सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

बैतडी । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्त्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताए ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए ।

यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

यस पर्वको पहिलो दिन घर–घरमा तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइन्छ । पहिलो दिन महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुर्हतमा सामूहिक रूपमा बिरुडा धोइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्रयाएर पूजाअर्चना गरी महिलाहरूले दुबधागो चढाउने प्रचलन छ । चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पूजा गर्ने परम्परा रहेको पुरोहितहरूले बताउने गरेका छन् । सोहि दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन ।

महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेश अनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रही आएको छ । यसैबीच, गौरा पर्व गाउँघरमा चहलपहल पनि बढेको छ । पर्व मनाउन रोजगारीका लागि देशबाहिर रहेकाहरू घर फर्किने थालेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *