डडेल्धुरामा जिप दुर्घटनामा एकै गाउँका चारजनाको मृत्यु, चार घाइते
काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
उग्रतारा यातायात अन्तर्गतको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार मृतकहरूलाई घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ। शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूमा नवदुर्गा–५ की १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र ३५ वर्षीय जिप चालक रामबहादुर साउद रहेका छन्। तीमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।
दुर्घटना बिहान करिब सवा ९ बजे भएको अनुमान गरिएको छ। जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो। घटनाको कारण हालसम्म नखुलेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comment