“पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्किन रोक्न मिल्दैन : प्रचण्ड”
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘मैले पहिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले प्रत्यक्ष वा परोक्ष रूपमा विद्यादेवीलाई पनि राजनीतिमा फर्किन बाटो खोलिदिएको छ।’
उनले संविधानले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन रोक नराखेको बताए। ‘हाम्रो संविधान, ऐन र कानुनले कसैले पनि राष्ट्रपतिलाई वा उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउन भन्न सक्दैन,’ प्रचण्डले भने।
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने भन्दै उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। तर प्रचण्डले भने पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु सामान्य प्रक्रिया भएको बताए। उनले यो सदस्यता नवीकरण प्रधानमन्त्री केपी ओलीको सहमतिमा भएको पनि उल्लेख गरे। प्रचण्डले चीन भ्रमणपछि यो विषयमा विवाद उत्पन्न भएको स्वीकारे।
‘विद्याजीले सक्रिय राजनीतिमा आउन चाहनु भएको सदस्यता नवीकरण ओलीको सहमतिमा भएको हो,’ उनले भने, ‘चीन भ्रमण ओलीकै सहमतिमा भएको थियो, त्यसपछि अध्यक्ष बनाउने कुरा पनि छलफलमा थियो तर पछि के भयो थाहा छैन, म त्यहाँ जान चाहन्नँ।’
पार्टी सदस्यता नपाएपछि विद्यादेवी भण्डारीको आगामी योजना (प्लान बी) को विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अनभिज्ञता देखाए। ‘यसबीचमा विद्याजीसँग कुनै सम्पर्क वा कुराकानी भएको छैन,’ उनले भने। ‘देशको राजनीति कता जाने हो भन्नेमा सबैको चासो स्वाभाविक हो। अहिलेको गठबन्धन सरकारले काम गर्ने तरिकाप्रति जनतामा आक्रोश र असन्तुष्टि पनि छ।’
प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन रोक्न नहुने पनि बताए। ‘विश्वमा त्यस्ता धेरै उदाहरण छन् जहाँ राष्ट्रपति भएपछि प्रधानमन्त्री भएका छन् र प्रधानमन्त्री भएर फेरि राष्ट्रपति भएका पनि छन्,’ उनले भने, ‘राष्ट्रपति हुनुभन्दा पहिले महानगरपालिकाका मेयर भएर राष्ट्रपतिमा पुग्ने उदाहरण पनि धेरै छन्।’
Facebook Comment