दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित, साउथ अस्ट्रेलियासँग ३ रनको हार

काठमाडौं । अष्ट्रेलियामा जारी अभ्यास सिरिजअन्तर्गत नेपालले साउथ अष्ट्रेलियाविरुद्ध दोस्रो टी–२० खेलमा पनि पराजय भोगेको छ। बिहीबार भएको खेलमा नेपाल ३ रनले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै जित निकालेको हो।

जितका लागि अन्तिम बलमा ४ रन आवश्यक रहेको अवस्थामा साउथ अष्ट्रेलियाका ब्राउनले नेपाली कप्तान रोहित पौडेलको बलमा चौका प्रहार गर्दै टोलीलाई जिताए।

साउथ अष्ट्रेलियाका लागि विन्टरले ३६, होजरङबोजेमले २८, हार्बीले २७, ड्रिउले २४ र मानिन्तीले २२ रन जोडे।

नेपालका बलरमध्ये सोमपाल कामीले ३ विकेट लिए। नन्दन यादवले २ तथा कप्तान रोहित पौडेलले १ विकेट झारे।

यसअघि ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीले ३२ रन बनाए। ओपनर आशिफ शेखले १३ बलमा २२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रनको योगदान दिए। सोमपाल कामी १८ र सन्दीप लामिछाने ५ रनमा अविजित रहे।

साउथ अष्ट्रेलियाका ब्राउन र मानिन्तीले समान २–२ विकेट लिए। फेडेन र मिनिजले समान १–१ विकेट लिए।

नेपालले यसअघि डार्विनमा सम्पन्न टप एन्ड टी–२० सिरिजमा १० टिममध्ये आठौं स्थान हासिल गरेको थियो। नेपालले आउँदो शनिबार साउथ अष्ट्रेलियासँग एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *