लगानी बोर्ड र कोरियाली कम्पनीबीच ग्रीन हाइड्रोजन तथा फ्युल सेल परियोजनाका लागि समझदारी

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेड बीच ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययन (DPR) प्रतिवेदन तयार गर्ने समझदारी भएको छ।

सम्झौताअनुसार, कम्पनीले नेपालमा नवीकरणीय स्रोतबाट हाइड्रोजन उत्पादन गरी त्यसलाई फ्युल सेल प्रविधिबाट स्वच्छ बिजुली वा इन्धनमा रूपान्तरण गर्ने सम्भावनाको अध्ययन गर्नेछ।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जि–फिलोस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका छन्।

बोर्डबाट सर्वेक्षण अनुमति प्राप्त गरेको मितिबाट १० महिनाभित्र कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर बोर्डमा पेश गर्नुपर्नेछ।

सम्झौता समारोहमा बोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा नवीकरणीय स्वच्छ ऊर्जाको उच्च सम्भावना रहेको बताए। उनले यस्तो परियोजनाले नेपालका दिगो विकास लक्ष्य (SDG) हासिल गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। साथै, यसले नेपाल–कोरिया सम्बन्धमा थप मजबूती ल्याउने उनको भनाइ थियो।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्रीन हाइड्रोजनजस्ता परियोजनामा प्राज्ञिक तथा प्रविधिमैत्री सहयोग अत्यावश्यक हुने उल्लेख गर्दै, यस्ता योजनाले नेपालमा पूँजी र प्रविधीको आदान–प्रदानमा सकारात्मक भूमिका खेल्ने बताए।

उनले प्रस्तावक कम्पनीले तोकिएको समयमा गुणस्तरीय प्रतिवेदन बुझाउनेमा विश्वास व्यक्त गर्दै, छिट्टै नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता जनाए।

गएको २०८२ साल वैशाख १५ गते जि–फिलोस कम्पनी लिमिटेडले सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो।

त्यसपछि लगानी बोर्डको ६३औं बैठकले उक्त प्रस्ताव स्वीकृत गर्दै कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *