उखु किसानको आन्दोलन अन्त्य गर्न अनुदान भुक्तानीको माग गर्दै गगन थापा सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भेटवार्ता गर्दै थापाले सरकारले पहिले नै प्रतिबद्धता गरेको बिक्रीमा आधारित प्रोत्साहन अनुदान अबिलम्ब किसानलाई भुक्तानी गर्नुपर्ने बताएका हुन्।

उनले बजेट अभाव भएको जस्तो देखाए पनि व्यवहारमा यस्तो अवस्था नरहेको स्पष्ट गर्दै, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमै कृषि मन्त्रालय अन्तर्गत “उखु कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने” शीर्षकमा २ अर्ब रुपैयाँ विनियोजन भइसकेको जानकारी दिए।

थापाका अनुसार यो बजेटअनुसार प्रतिक्विन्टल ७० रुपैयाँका दरले किसानलाई प्रोत्साहन अनुदान दिनुपर्ने हो, जसका लागि आवश्यक रकम तत्काल निकासा गरी भुक्तानी प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए।

नीतिगत स्थायित्वको माग

महामन्त्री थापाले किसानका विषयमा सरकारको निर्णयमा स्थायित्व नदेखिएको भन्दै आलोचना गरे। कहिले निर्णय गर्ने, फेरि फिर्ता लिने प्रवृत्तिले किसानलाई अन्योलमा पार्ने भन्दै उनले यस्तो व्यवहार अन्त्य गर्नुपर्ने बताए।

थापाले किसानहरूलाई बारम्बार सडकमा आउन बाध्य पार्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै भने, “सरकारले न्यूनतम मूल्यदेखि अनुदानसम्मको विषय स्पष्ट र सुनिश्चित बनाउनुपर्छ। दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायसँग समन्वयमा बहुआयामिक प्रयास आवश्यक छ।”

उनले विनियोजित बजेटबाट किसानलाई आवश्यक भुक्तानी गरी आन्दोलनरत किसानलाई घर–खेत फर्कने वातावरण बनाउने र उखु उत्पादन प्रणालीमै सुधार ल्याउने दीर्घकालीन योजना अघि सार्न सरकारलाई आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *