ह्वाट्सएपमार्फत गालीगलौज गरेको आरोपमा डा. पाँडेलविरुद्ध मुद्दा, अदालतमा बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेललाई विद्युतीय कारोबार ऐनअन्तर्गत दर्ता गरिएको मुद्दामा बयानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

उनको बयान न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने छ। बयान सकिएपछि आजै थुनछेक बहस हुने कार्यक्रम तय भएको छ। त्यसपछि अदालतले पाँडेललाई धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने भन्नेबारे निर्णय गर्नेछ।

पाँडेलविरुद्ध एक महिलाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत गालीगलौज गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनलाई बुधबार साइबर ब्युरोमा उपस्थित गराइएको थियो।

बिहीबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चार दिनको म्याद दिएको थियो। हाल पाँडेललाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।

पर्यावरणविद् समेत रहेका डा. पाँडेल २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। उनी २०८० सालमा सरकारमा रास्वपाको सहभागिता रहँदा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *