इन्द्रजात्राका लागि नालाबाट ल्याइएको यःसी नगर प्रवेश

काठमाडौं । यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी (लिङ्गो) आइतबार बिहान साइतअनुसार नगर प्रवेश गराइएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको साइतअनुसार भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ। समितिको निर्णयअनुसार भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटमा इन्द्रध्वजोत्थान गर्ने तयारी गरिएको छ।

इन्द्रध्वजोत्थान सम्पन्न भएपछि भाद्र २१ गतेदेखि औपचारिक रूपमा इन्द्रजात्रा सुरु हुनेछ। जात्राका क्रममा जीवित देवी कुमारीलाई परम्परागत रूपमा तल्लो र माथिल्लो टोल भ्रमण गराइने चलन रहेको स्थानीय राजन महर्जनले जानकारी दिए।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीका रथ निर्माण र सजावटको काम अगाडि बढाइएको छ। जात्राको मुख्य दिन तीनै रथ तान्न सुरु गरिनेछ। सो दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा उपस्थित हुने परम्परा रहिआएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *