प्रा.डा. गोविन्द केसीको तीनदिने सत्याग्रह सुरु
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने सरकारको निर्णयको विरोधमा तीनदिने सत्याग्रह सुरु गर्नुभएको छ । उहाँले धनगढीस्थित गेटा मेडिकल कलेजको परिसरमा पत्रकार सम्मेलन गरी आफ्नो सत्याग्रहको घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धिले शिक्षाको गुणस्तर खस्काउने र अन्ततः आम नागरिकको स्वास्थ्यमाथि खेलवाड हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी मेडिकल कलेजहरूको सिट बढाउँदा नेता र माफियाको स्वार्थ पूरा हुन्छ, तर त्यसको प्रत्यक्ष असर शिक्षाको गुणस्तरमा पर्छ । गुणस्तर खस्कनु भनेको आम नेपालीको स्वास्थ्य सेवामा ह्रास आउनु हो ।’
उहाँले सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई कुनै फाइदा नपुग्ने बरु शिक्षा र स्वास्थ्य प्रणालीलाई नै धरापमा पारेको आरोप लगाउनुभयो । नेपालमा सरकारी मेडिकल कलेज तथा अस्पतालहरूको विस्तार गर्नु आवश्यक रहेकोमा सरकार उल्टै निजी कलेजहरूलाई पोस्ने नीतिमा लागेको उहाँको भनाइ छ ।
डा. केसीले उदाहरण दिँदै भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानजस्तो प्रतिष्ठित संस्थाले १०० जना विद्यार्थी पढाउन हिचकिचाइरहेको अवस्थामा पूर्वाधार र बिरामीको चाप नपुग्ने निजी कलेजलाई १३० सिट दिनु अत्यन्त दुर्भाग्यपूर्ण छ ।’
डा. केसीका मुख्य मागहरू:
सत्याग्रहसँगै डा. केसीले सरकारसँग विभिन्न मागहरू राख्नुभएको छ, जसमा:
निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गरियोस् ।
इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पतालहरू स्थापना गरियोस् ।
कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालनमा ल्याइयोस् ।
अघिल्ला सम्झौताहरूअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानहरूलाई तत्काल कार्यान्वयन गरियोस् ।
Facebook Comment