सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा नाकाहरूमा हुने अवैध चोरी निकासी तथा पैठारी रोक्न सबै सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आइतबार पर्साको जिल्ला प्रशासन कार्यालयमा आयोजित राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय र तीनवटै सुरक्षा संयन्त्रसहित सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले राजस्व चुहावट नियन्त्रणका लागि एकले अर्कालाई दोषारोपण गरेर मात्र समस्या समाधान नहुने स्पष्ट पारे । उनले सीमा क्षेत्रमा हुने अवैध तस्करी र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि मातहतका सबै अधिकारीलाई सक्रिय हुन पनि निर्देशन दिए ।
बैठकमा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उत्साहजनक राजस्व सङ्कलन भएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन हुने अपेक्षा रहेको र त्यसका लागि चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
यसैगरी, पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले भारतीय नागरिकले कम आय भएका नेपालीको नागरिकता दुरुपयोग गरी फर्म दर्ता गरेर तस्करी गर्ने प्रवृत्ति देखिएकाले त्यसप्रति सचेत हुन आग्रह गरे। उनले बिलबिना नै मालवस्तु ओसारपसार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा पनि जोड दिए ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा सहभागी नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिले तस्करीलाई बढावा दिएको भन्दै यस्ता गोदामहरूलाई निरुत्साहित गर्नुपर्ने धारणा राखे ।
बैठकमा सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादव पनि सहभागी थिए । शनिबार राति वीरगन्ज आइपुगेका गृहमन्त्री लेखक आइतबार विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
Facebook Comment