प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच भोलि द्विपक्षीय भेटवार्ता
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भोलि (सोमबार) द्विपक्षीय भेटवार्ता हुने निश्चित भएको छ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुई नेताबीच तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा करिब आधा घन्टासम्म वार्ता हुनेछ। अधिकारीले भने, “सोमबार बिहान ६:४५ बजे भेटवार्ता सुरु हुनेछ र करिब आधा घन्टासम्म चल्नेछ। यस क्रममा दुवै पक्षका द्विपक्षीय हितका विषयमा छलफल हुनेछ।”
प्रधानमन्त्री ओली एससीओ सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्। शनिबार उनले राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए। यस अवसरमा उनले चीन र भारतबीच लिपुलेक नाका सम्बन्धी सम्झौताको विषयमा ध्यानाकर्षण गराएका थिए।
यसअघि ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेटवार्ता गरेका थिए।
यो भेटवार्ता नेपाल–रुस सम्बन्धमा नयाँ चरणको संकेतका रूपमा हेरिएको छ। सम्भावित छलफलमा व्यापार, लगानी, ऊर्जा, शिक्षा, स्वास्थ्य र सुरक्षा सहयोगका विषय उठ्न सक्ने अनुमान गरिएको छ।
नेपालका लागि यस भेटवार्ताले आर्थिक र कूटनीतिक लाभ सुनिश्चित गर्ने, र रुसका लागि क्षेत्रीय प्रभाव र साझेदारी विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
Facebook Comment