एमालेको विधान महाधिवेशनको तयारी जारी, २ हजार ३४९ जना सहभागी हुने

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पुरा भएको केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधी र आयोजकको नाम र संख्या निश्चित गरिएको छ ।

‘दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधी हुन् । ती मध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाहरुको सुची हटाइएको छ ’ गौतमले भने ‘तर ति रिक्त ठाउँमा नयाँ प्रतिनिधी छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन । अर्कोतिर दशौं महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरुलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उहाँहरु आयोजकको हैसियतमा रहनु हुन्छ । ’

महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधी सहित २ हजार ३ सय ४९ जना सहभागी हुदैछन् ।

केन्द्रीय कार्यलयले हिजो नै सबै प्रतिनिधीहरुलाई एसएमएस मार्फत महाधिवेशनको निमन्त्रणा पठाइ सकेको छ । केही प्रतिनिधीहरुको मोवाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीहरुलाई सबै प्रतिनिधीलाई जानकारी दिन केन्द्रीय कार्यलयले निर्देशन गरेको छ ।

पार्टीले विधान महाधिवेशनको मुल नाराको रुपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान छपाइको काम भइरहेको छ । यस्तै निर्वाचन,अनुशासन,लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइको क्रममा रहेको छ । प्रतिनिधी परिचय पत्र छपाइ भइसकेको छ ।

एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरु महाधिवेशनमा पठाउने निर्णय लगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ । प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलन मार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ ।

परिचय पत्र अनलाइन मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । डा.अधिकारीका अनुसार गोदावरी स्थित सनराइज हलमा छिर्नका लागि प्रतिनिधीहरुलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ । खाना र खाजाका लागि हिजो नै एक व्यांकेटलाई जिम्मा दिइएको छ ।

महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ । विभिन्न जनबर्गीय संगठन र स्थानीय कमिटीह्रुले सातदोबाटो देखि गोदावरीसम्म स्वागत द्वार निर्माण र हसिंया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरेका छन् । ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गर्दैछ ।

यसैगरी भक्तपुर जिल्ला कमिटीले जडिबुटी देखि सूर्यविनायक सम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने महाधिवेशनको कार्यसुची तयार गर्न अहिले बिहान महासचिव शंकर पोखरेलको उपस्थितीमा बैठक बस्दैछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *