नेताहरू जनताबाट टाढिए, ‘धागो चुँडिएको चङ्गाजस्तै’ : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका कतिपय नेताहरू जनतासँगको सम्बन्धबाट टाढिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले नेताहरूलाई ‘धागो चुँडिएको चङ्गाजस्तै’ भएको भन्दै व्यङ्ग्यपूर्ण टिप्पणी गरेका हुन्।
‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै ज्ञवालीले पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले ठूलठूला कुरा गरे पनि आफ्नो वडामा समेत चुनाव जित्न नसकेको यथार्थ औँल्याए।
‘हामीले ‘मैले जिताउँछु मेरो वडा’ भन्ने नारा दिएका थियौँ। तर, कतिपय पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्नो वडामा समेत चुनाव जिताउन सक्दैनन्। कुरा चाहिँ ठूलठूला गर्छन्,’ उनले भने, ‘यसले के देखाउँछ भने हामी जनतासँग जोडिनु कति महत्त्वपूर्ण छ।’
उनले पार्टीभित्र वैचारिक र साङ्गठनिक दुवै तहमा अन्योल बढेको स्वीकार गर्दै त्यसलाई चिरेर जनतासँगको सम्बन्धलाई पुनः स्थापित गर्नुपर्नेमा जोड दिए। ज्ञवालीको यो भनाइले एमालेभित्रको आन्तरिक अवस्था र नेताहरूको जनसम्पर्कबारेको गम्भीर प्रश्न उठाएको छ।
Facebook Comment