कर्णाली यशभिसका लागि खेल्ने ग्रीसकी स्टार चान्टाभा नेपाल आइपुगिन्
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रीसकी राष्ट्रिय टोलीकी चर्चित खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्। भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने यस प्रतियोगितामा उनी कर्णाली यक्षविसबाट खेल्नेछिन्।
२००५ देखि व्यावसायिक खेल जीवन सुरु गरेकी ३८ वर्षीया चान्टाभाले ग्रीससहित इटाली, टर्की, थाइल्यान्ड, रोमानिया, ब्राजिल, इन्डोनेसिया र जापान लगायतका देशका विभिन्न क्लबमा खेलेर अनुभव बटुलिसकेकी छन्। आफ्नो खेल जीवनमा उनले थुप्रै उपाधि जितेकी छन् भने व्यक्तिगत रूपमा पनि दर्जनौँ अवार्डहरू हात पारेकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आउटसाइड हिटर चान्टाभाले नेपालमा आएर खेल्न पाउँदा आफू उत्साहित भएको बताइन्। उनले आफू आबद्ध टोली कर्णाली यक्षविसलाई दोस्रोपटक च्याम्पियन बनाउने लक्ष्यसहित उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यस वर्ष कर्णाली यक्षविसले चान्टाभाका साथै ब्राजिलका दुई खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई पनि अनुबन्ध गरेको छ, जो सोमबार साँझ नेपाल आइपुग्ने छन्। यस्तै, टिमले प्रशिक्षक कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई पनि निरन्तरता दिएको छ।
साथै, कर्णाली यक्षविसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसेडर बनाएर लिगको अन्तिम तयारी गरिरहेको छ।
Facebook Comment