अविरल वर्षाले कञ्चनपुरमा डुबान: प्रभावित परिवार विद्यालयमा आश्रित
काठमाडौं । अविरल वर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। आइतबार रातिदेखिको लगातारको वर्षाले गर्दा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका ४५ वटा घर डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार, जोगबुढा नदीमा आएको बाढी दोधारा चाँदनी–८, रामपुरे टोल र जर्गा टोलमा पस्दा २५ घर डुबानमा परेका छन्। डुबानमा परेका ७० जनालाई नजिकैको विद्यालयमा अस्थायी रूपमा राखिएको छ।
यसैगरी, दोधारा चाँदनी–३, पटराखल्लाका १५ घर पनि डुबानमा परेका छन्। त्यहाँका ५५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रहरीको टोलीले डुबानमा परेका घरपरिवार र उनीहरूका चौपायालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।
महाकालीको जलस्तर बढ्यो, आवागमनमा रोक
वर्षासँगै महाकाली नदीमा पानीको सतह बढेको छ। डीएसपी बोहराका अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ४० हजार २५० क्युसेक पुगेको छ।
नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चार र तीनपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ। बढ्दो जलस्तरका कारण नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
Facebook Comment