जनमत ध्रुवीकरणविना स्थायित्व असम्भव : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीति र विचारमा आधारित जनमत ध्रुवीकरण हुन नसक्दा मुलुकमा दीर्घकालीन राजनीतिक स्थायित्व कायम हुन नसकेको बताएका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेता आनन्द पोखरेलद्वारा लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन गर्दै महासचिव पोखरेलले जनमत नीति र विचारले निर्देशित नहुँदा अस्थिरता चुलिँदै गएको धारणा व्यक्त गरे।

“राजनीतिक स्थायित्वको मूल शर्त भनेकै नीति र विचारको स्पष्टता हो,” पोखरेलले भने, “तर नेपालमा जनमत ध्रुवीकरण नीतिगत स्पष्टताका आधारमा हुन नसक्दा अस्थिरता निरन्तर भइरहेकाे छ।”

उनका अनुसार हालसम्मका अभ्यासले ३४–३५ प्रतिशत लोकप्रिय मत ल्याउने अवस्था मात्रै सिर्जना गर्न सकेको छ, जसबाट निर्णायक शक्ति बन्न कठिन भइरहेको छ। यस स्थितिमा सुधार ल्याउन संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म बलियो बनाउनु आवश्यक रहेको पोखरेलको भनाइ छ।

महासचिव पोखरेलले एमालेको नीति पार्टीको मात्र नभई राष्ट्रको मार्गदर्शक नीति बन्न सक्ने क्षमतामा रूपान्तरण गर्नु अहिलेको मुख्य कार्यभार भएको बताए। “जबसम्म हाम्रो नीति राष्ट्रिय नीति बन्न सक्दैन, तबसम्म निर्णायक शक्ति बन्न सकिँदैन,” उनले जोड दिए।

सरकार गठनका क्रममा भिन्न विचारधाराका दलसँग सहकार्य गर्नुपर्ने बाध्यता उल्लेख गर्दै उनले अब एकल बहुमत प्राप्त गर्ने गरी दीर्घकालीन रणनीति बनाउनु पर्ने आवश्यकता औँल्याए।

पार्टी विधान महाधिवेशनपछि एमाले थप व्यवस्थित हुने बताउँदै उनले वैधानिक संरचनाहरूलाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यसैगरी, पोखरेलले कम्युनिस्ट आन्दोलनको वर्गसंघर्ष अब आवधिक निर्वाचनप्रति केन्द्रित हुनुपर्ने र त्यसैलाई संघर्षको माध्यम बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *