वर्षा र बाढीले देशभर १० राजमार्ग ठप्प, अरु १५८ आंशिक अवरुद्ध
काठमाडौं । देशभर लगातारको वर्षा र बाढीपहिरोले जनजीवन प्रभावित भएको छ। यसका कारण १० वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १५८ वटा राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छन्। सडक विभागका अनुसार बाढीले सडक कटान गरेपछि र विभिन्न ठाउँमा पहिरो खसेकाले आवागमन ठप्प भएको हो।
अवरुद्ध सडक तत्काल खुलाउन कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्देशन दिएका छन्। सिंहले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या भएको भन्दै तत्कालै सडक सञ्चालन गर्न काम अगाडि बढाउन आग्रह गरेका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार अवरुद्ध भएका सडकहरू छिटोभन्दा छिटो खोल्ने प्रयास भइरहेको छ। ‘कतिपय राजमार्गमा सुधारको काम भइरहेको छ,’ उनले भने, ‘तर, कतिपय ठाउँमा लगातार वर्षा भइरहेको र नदीको बहाब बढेकाले पहिरो पन्छाउने र सफा गर्ने काममा बाधा पुगेको छ।’
पूर्ण रूपमा अवरुद्ध भएका मुख्य राजमार्गहरू :
ठोरी–भण्डारा–मलेखु र गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड: चीनबाट आएको बाढीले सडक कटान गरेपछि यो राजमार्ग अवरुद्ध भएको हो। हाल एक्साभेटर र लोडर प्रयोग गरी सडक खोल्ने काम भइरहेको छ।
जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग): पैमा खोलाको बहाब बढेकाले यो राजमार्ग अवरुद्ध छ। खोलामा पानीको सतह घटेपछि सफाइ गरिने सडक विभागले जनाएको छ।
रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग): बरुण नदीको डाइभर्सन बाढीले बगाएकाले यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। पानीको सतह घटेपछि डाइभर्सन र पुलको काम अघि बढाइनेछ।
चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर): साउन ६ गतेको बाढीले तमोर नदीमा रहेको रानी बेलीब्रिज बगाएपछि यो करिडोर अवरुद्ध भएको हो। अहिले रेमिट हाइड्रोले नयाँ बेलीब्रिज बनाउने पहल गरिरहेको छ।
छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर): खोलाबाट आएको लेदोसहितको बाढीपहिरोले यो करिडोर अवरुद्ध भएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।
कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम (सहिद मार्ग): यो सडक पनि पहिरोले अवरुद्ध भएको छ। लगातार पानी परिरहेकाले पहिरो रोकिएपछि मात्र सफाइको काम सुरु गरिनेछ।
सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक: पहिरोसँगै ठूला ढुङ्गा खसेकाले यो सडक अवरुद्ध भएको छ। ढुङ्गा हटाउने प्रयास भइरहे पनि ढुङ्गा खस्ने क्रम जारी छ।
छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर): पानी पर्न रोकिएपछि र खोला घटेपछि यो सडकको मर्मत कार्य अघि बढाइने सडक विभागले जनाएको छ।
सडक विभागले विभिन्न स्थानमा अवरुद्ध सडकहरू खोल्नका लागि निरन्तर काम गरिरहेको छ। तर, वर्षा नरोकिएकाले काममा चुनौती थपिएको छ।
Facebook Comment