नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि
काठमाडौं । सन् २०२५ को अगस्ट महिनामा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको अगस्टको तुलनामा २२ प्रतिशतले बढी हो।
पर्यटन बोर्डका अनुसार नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट ३५ हजार ५०५ जना छन्, जुन कुल आगमनको ४० प्रतिशत हो।
त्यस्तै,
चीनबाट ७,५३३ (८.५%),
अमेरिकाबाट ६,०६८ (६.८%),
श्रीलङ्काबाट ५,९५६ (६.७%),
बङ्गलादेशबाट ४,२६२ (४.८%) पर्यटक आएका छन्।
आठ महिनामा ७ लाख ३६ हजारभन्दा बढी पर्यटक
सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको आठ महिनामा ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन्। क्षेत्रगत रूपमा विश्लेषण गर्दा:
दक्षिण एशिया (सार्क): ४७,१३७ (५३%)
अन्य एसियाली देशहरू: १५,७७७ (१७.८%)
युरोप: ११,१३२ (१२.६%)
ओसनिया: २,४३५ (२.७%)
अमेरिका: ७,२९३ (८.२%)
मध्यपूर्व: ९४४ (१.१%)
अफ्रिका: ३२२ (०.४%)
अन्य देशहरू: ३,६४० (४.१%)
त्यसैगरी, सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल भित्रिएका थिए।
पर्यटन पुनरुत्थानतर्फ उन्मुख
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र बिस्तारै पुनरुत्थानको दिशामा अगाडि बढिरहेको बताए।
उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेसको उडान थपिँदा भारतबाट आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। आगामी महिनाहरूमा पर्यटक आगमनमा निरन्तर वृद्धि हुनेमा हामी आशावादी छौं।”
पर्यटक आगमनको यो क्रमले नेपालका लागि पर्यटन क्षेत्र फेरि जोगिने मात्र नभई, आर्थिक पुनरुत्थानमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Facebook Comment