माग्ने राजा हेरेपछि के भन्छन् एमाले सचिव योगेस भट्टराई ?
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिले चलिरहेको चलचित्र माग्ने राजा हेरेका छन् ।
फिल्म हेरेपछि हल बाहिर उनले आफूलाई फिल्म एकमद राम्रो लागेको बताए । उनले समाज र देशको विकासमा राजनीतिक दलले खेल्नु पर्ने भूमिकाका विषयमा सकारात्मक सन्देश पाएको बताए ।
उनले भने, ‘फिल्म राम्रो बनेको छ । यो फिल्मले राजनीतिलाई राम्रो बनाउनु पर्यो भन्ने सन्देश दिएको छ । राजनीति देशको लागि, विकासको लागि र पार्टीभित्र देखिएका, सरकारमा देखिएका र समाजमा देखिएका विकृतिहरू हटाउन उद्दत हुनुपर्यो । यो हामी सबै मिलेर हटाउनुपर्यो भन्ने सन्देश मैले पाएँ ।’
उनले फिल्मको चर्चा गर्दै भने, ‘राम्रो कथावस्तुमा बनेको फिल्म छ । सबै कलाकारले राम्रो भूमिका निर्वाह गर्नुभएको छ । सकारात्मक सन्देश छ ।’
राजनीति भताभूंग भयो भन्ने विषय फिल्ममा देखाइएको छ, अवस्था यस्तै हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भट्टराईले भने, ‘फिल्मको कथावस्तु जस्तै त राजनीति छैन । फिल्म भनेको एउटा कल्पना हो । एउटा काल्पनिक साहित्य पनि हो । सबै त्यस्तो समाजमा जस्ताको तस्तै हुन्छ भन्ने छैन । समाजका कतिपय कुरा त्यसमा प्रतिविम्बित छन् । समाजलाई सुधार्ने, समाजलाई राम्रो बनाउने, राजनीतिलाई राम्रो बनाउने । त्यो सकारात्मक सन्देशका रुपमा यो फिल्मलाई लिनुपर्छ । कतिपय नेगेटिभ पनि होलान् । तर हामीले पोजेटिभलाई लिने हो ।’
सँगै रहेका अभिनेता केदारप्रसाद घिमिरेलाई देखाउँदै भट्टराईले भने, ‘हाम्रो केदार जीले बुलन्द खेल्नु भएको छ । अब केदार जीको नाम चाहिँ बदलिन्छ जस्तो छ । कमेडिमा खेल्दासम्म माग्ने बुढा थियो । अब नाम बदलिएको छ, किनभने फिल्मले पैसा निक्कै कमायो । फिल्ममा मात्र कमाएन रियलमा पनि टन्नै कमाएको छ।’
उनले नेपालीले यो फिल्म एक पटक हेर्नै पर्ने सुझाव पनि दिएका छन् ।
Facebook Comment