‘५० शैय्या’को उद्घाटन, तर विशेषज्ञ विहीन दिक्तेल अस्पताल : खोटाङवासी अझै हेलिकप्टरमै जीवन खोज्दै

काठमाडौं । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले असार २२ गते तामझामसहित खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिएको घोषणा गर्दै उद्घाटन गरे। उद्घाटनकै दिन उनले भनेका थिए, “अब खोटाङबासीलाई उपचारका लागि हेलिकप्टर चढेर राजधानी धाउनुपर्ने छैन, विशेषज्ञ चिकित्सकसहितको सेवा यहीँ उपलब्ध हुन्छ।” तर, मन्त्रीको आश्वासन जनताका लागि सपना मात्रै सावित भयो।

भवन छ, बेड छ, सेवा छैन

पूर्वी पहाडी जिल्ला खोटाङ राजधानी काठमाडौंदेखि करिब २७० किलोमिटर टाढा पर्छ। यहाँको जिल्ला अस्पतालमा भवन, बेड र केही उपकरण त छन्, तर विशेषज्ञ चिकित्सकको अभावले अस्पताल उपचार केन्द्र नभई रिफरल सेन्टरमा मात्र सीमित छ।
अस्पताल प्रमुख डा. रूपेश संग्रौलाका अनुसार वार्षिक ५० हजारभन्दा बढी बिरामी आउँछन्। तर सर्जन, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मस्तिष्क तथा मुटु रोग विशेषज्ञ नभएकाले गम्भीर अवस्थाका बिरामीलाई बाध्यतावश अन्यत्र रेफर गर्नुपर्छ।

उपचार नपाएर ज्यान गुमाउनेहरूको पीडा

दिक्तेल–१ का वेदप्रसाद आचार्य सामान्य ज्वरोका कारण अस्पताल भर्ना भए तर उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरियो। एम्बुलेन्समै लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो। उनका भाइ जीवन आचार्य भन्छन्, “दाजुको उपचार नपाएर अनाहकमा ज्यान गयो। बुबालाई पनि यहीँ उपचार नहुने भएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लग्यौं, त्यसपछि मात्रै बचाउन सक्यौं।”
यस्तै, बुइपाकी २७ वर्षीया गर्भवती माइतीकला राई उपचार नपाएर दिक्तेल अस्पतालमै प्राण गुमाउन बाध्य भइन्। आर्थिक अवस्था कमजोर भएकी उनलाई काठमाडौं पुर्‍याउन नसक्दा मृत्यु भएको स्थानीय वडाध्यक्ष दिनेश राई बताउँछन्।

‘धनी बाँच्छन्, गरिब बाटोमै मर्छन्’

हेलिकप्टर चार्टर गर्न ३ देखि ५ लाख रुपैयाँ लाग्छ। यस्तो खर्चले किसान परिवार जीवनभर ऋणको भारीमा दबिन्छन्।
नेपाल पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई भन्छन्, “यहाँका बासिन्दाले उपचार नपाए हेलिकप्टरमै जानुपर्छ। त्यसका लागि दराजमा ५ लाख रुपैयाँ राखेर बस्नुपर्ने बाध्यता छ। पैसाविना उपचार सम्भव छैन।”
दिक्तेल रुपाकोट मझुवागढी–१५ का नगेन्द्र ढकाल भन्छन्, “हामी गरिबका लागि त अस्पताल नाममात्रको हो। धनीले हेलिकप्टर चढेर बाँच्छन्, गरिबको बाटोमै ज्यान जान्छ।”

नेताहरूको आक्रोश

प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ) भन्छन्, “स्वास्थ्य सुविधा नहुँदा नागरिकले हेलिकप्टरमा जीवन खोज्नुपर्ने अवस्था अमानवीय हो। सरकारले तत्काल स्थायी रूपमा विशेषज्ञ चिकित्सक पठाउनुपर्छ।”
एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले मन्त्रीले ‘सेवा नचलेको अस्पताल’ उद्घाटन गरेर जनतालाई भ्रममा पारेको आरोप लगाए। माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे भन्छन्, “राजधानीमा पाँचतारे अस्पताल बढ्दै गर्दा खोटाङमा नागरिक उपचार नपाएर मर्नु न्यायसंगत होइन। विशेषज्ञ आउन प्रोत्साहन भत्ता र सुरक्षाको वातावरण दिनैपर्छ।”
नगर प्रमुख तीर्थ भट्टराई भन्छन्, “हामीले उद्धार कोष, एम्बुलेन्स र स्वास्थ्यकर्मीको व्यवस्था गरेका छौं। तर, यो पर्याप्त छैन। संघीय र प्रदेश सरकारले दिक्तेल अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा विस्तार नगरेसम्म समस्या कायम रहन्छ।”

नीति घोषणा, तर कार्यान्वयन शून्य

स्वास्थ्य मन्त्रालयले वर्षौंदेखि प्रत्येक जिल्लामा विशेषज्ञ चिकित्सक पठाउने नीति घोषणा गरे पनि खोटाङमा अझै स्थायी नियुक्ति भएको छैन। अस्थायी करारमा आउने चिकित्सक लामो समय बस्दैनन्। प्रदेश सरकारले दिक्तेल अस्पताललाई प्रदेश अस्पताल बनाउने योजना सार्वजनिक गरे पनि व्यवहारमा प्रगति शून्य छ।

समान स्वास्थ्य अधिकार अझै दूरदराज

स्थानीय चन्द्र बुढाथोकी भन्छन्, “पैसा भएका काठमाडौं पुग्छन् र बाँच्छन्। हामीजस्ता गरिबलाई अस्पतालले हेरेको छैन। राज्यले हामीलाई बेवास्ता गरेको महसुस भएको छ।”
उनका अनुसार संविधानले दिएको समान स्वास्थ्य सेवाको अधिकार खोटाङवासीले अझैसम्म अनुभव गर्न पाएका छैनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *