बेइजिङमा सैनिक परेडमा प्रधानमन्त्री ओलीको सहभागिता, उच्चस्तरीय नेतासँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेइजिङमा आयोजना गरिएको विशेष सैनिक परेड कार्यक्रममा सहभागी भएका छन्। विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त समारोहमा उपस्थित राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए।

परेडपछि प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा पनि सहभागी भए।

प्रधानमन्त्री ओली, राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन गएका थिए। चीन भ्रमण सम्पन्न गरी उनी आजै स्वदेश फर्किँदैछन्।

उच्चस्तरीय भेटवार्ता र सम्बोधन

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङसँग छुट्टाछुट्टै भेटवार्ता गरे। यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्राथमिकता तथा क्षेत्रीय सहयोगका विषयमा आफ्नो धारणा प्रस्तुत गरे।

शिखर सम्मेलनकै अवसरमा उनले रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

भ्रमण टोली

प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू समेत भ्रमण टोलीमा सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *