भोजपुरमा सुन्तलामा ‘फल खस्ने रोग’, किसानको लाखौंको लगानी संकटमा
काठमाडौं । सुन्तलाको फल खस्ने रोग देखिएपछि भोजपुरका किसान समस्यामा परेका छन्। दानाको भेट्नो कुहिँदै झर्ने समस्या बढेपछि यहाँका व्यावसायिक सुन्तलाखेती प्रभावित भएको छ।
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतका अनुसार पछिल्लो समय सुन्तलामा विभिन्न रोग देखिँदै आएका छन्। “भेट्नो कुहिएर फल झर्ने समस्या गम्भीर बनेको छ, यसले किसानलाई चिन्तित बनाएको छ,” उनले बताए।
करिब ३०० किसान प्रभावित
गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछला लगायतका क्षेत्रमा करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएका छन्। तर रोग बढेपछि किसान उपचारको उपाय खोजिरहेका छन्।
स्थानीय किसान शारदा थापाका अनुसार बगैँचामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या देखिएको छ। “कतिपय बोट त खाली भइसकेका छन्। गतवर्ष मात्रै १० लाख रुपैयाँ बराबरको सुन्तला बेचेकी थिएँ तर यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता छ,” उनले भनिन्। उनका करिब ७०० बोट सुन्तला रहेका छन्।
रोगको पहिचान आवश्यक
भुइँमा झरेका फल काटेर हेर्दा किरा नदेखिएको अर्का किसान तीर्थ प्रधानले जानकारी दिए। उनका अनुसार प्रायः सबै बगैँचामा रोग देखिएको छ तर रोगको पहिचान नभएकाले किसान अलमलमा परेका छन्।
“सुन्तलामा रोग बढेपछि हामी किसान समस्यामा छौँ। सरकारले रोगको पहिचान गरिदिए हामी आफैंँ औषधि प्रयोग गर्न तयार छौँ। तर यसैगरी समस्या रहिरहे बगैँचा सखाप हुने अवस्था आउन सक्छ,” प्रधानले भने।
Facebook Comment