सांसद चौधरीद्वारा उखु किसानको सम्मान सुनिश्चित गर्न सरकारसँग आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखु किसानको श्रमको उचित सम्मान गर्न र किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले सरकारले विगतमा दिँदै आएको प्रति क्विन्टल ७० रुपैयाँको अनुदान रकम तत्काल उपलब्ध गराउनुपर्ने बताए। उनले सरकारले आफूले गरेको निर्णयबाट पछि हट्न नहुनेमा जोड दिए।
‘सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा दिनुबाहेक अरू केही होइन,’ उनले भने, ‘उत्पादन खर्च धान्नै मुस्किल भइरहेको अवस्थामा न्यूनतम आम्दानीसमेत सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना भएको छ।’
चौधरीले अनुदान कटौती भएपछि उखु किसानहरू आन्दोलित हुनु स्वाभाविक भएको पनि बताए। उनले किसानमैत्री नीति कार्यान्वयनमा ल्याएर उखु किसानको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।
Facebook Comment