इम्बोस्ड नम्बर प्लेट: जनतालाई थप भार पुर्‍याउने निर्णयप्रति सांसद नेम्बाङको प्रश्न

काठमाडौं । प्रतिनिधि सभाका सांसद सुहाङ नेम्बाङले सरकारले हतारमा लागू गरेको इम्बोस्ड नम्बर प्लेटको निर्णयप्रति प्रश्न उठाउँदै आजको बैठकको शून्य समयमा तीव्र आलोचना गरेका छन्।

सांसद नेम्बाङले भने, “जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाउन चाहन्छु। सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ। यसले जनतालाई सुविधा नभई थप सास्ती मात्र बढाएको छ।”

सवारीसाधनधनी नागरिकमा पहिलेदेखि नै अनेकौं आर्थिक र प्रशासनिक भार रहेको भन्दै उनले थपे, “सवारी किन्नासाथ उच्च कर तिर्नुपर्छ, हरेक वर्ष अनिवार्य बीमा तिर्नुपर्छ, सडक कर तिर्न लामो लाइन बस्नुपर्छ, लाइसेन्स बनाउन फारम, परीक्षा र ट्रायलमा लामो लाइनको सामना गर्नु पर्छ। यस्तो अवस्थामा अर्को जबर्जस्त नियम किन लागू गरियो?”

नेम्बाङले प्रश्न उठाए, “इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो? के हामीसँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन्? हजारौं नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ। यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुको अर्थ के हो, त्यो पनि अंग्रेजी भाषामा?”

भाषा र भावनासँगको सम्बन्धलाई जोड दिँदै सांसद नेम्बाङले तत्काल निर्णय फिर्ता लिन आग्रह गरे। “आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर प्रश्न उठाइरहेका छन्। त्यसैले मेरो विनम्र अनुरोध छ, सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको सुनिश्चितता गरेपछि मात्रै चरणबद्ध रूपमा अघि बढाओस्,” उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *