धुलिखेलको टिङ टिङ: नागरिकसँग सिधा एआई संवाद

काठमाडौं । सूचना प्रविधिको युगमा जब विश्वभर एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग तीव्र गतिमा बढ्दैछ, त्यही दौडमा स्थानीय सरकार पनि पछाडि छैनन्। धुलिखेल नगरपालिका यसका उदाहरणहरूमध्ये एक बनेको छ।

नगरपालिकाले आफ्ना ३८ हजार नागरिकसँग नेपाली भाषामा सिधा सम्पर्क गर्न एआई टेलिफोनी प्रणाली ‘टिङ टिङ’ (Ting Ting) प्रयोगमा ल्याएको छ। पालिकाका अनुसार, यस्तो पहल गर्ने सरकारी निकाय नेपालमै पहिलो हो।

धुलिखेलले कर तिर्ने म्याद, जन्म दर्ता, स्वास्थ्य शिविरलगायत नागरिकका लागि आवश्यक जानकारी छरितो तरिकाले पुर्‍याउने चुनौती सामना गर्दै आएको थियो। अब, हरेक नागरिकको मोबाइलमा नगरपालिका बाट सिधै सूचना पुग्ने व्यवस्था गरिएको छ। टिङ टिङको आधुनिक एआई प्रविधिले स्वचालित फोन कलमार्फत नागरिकलाई आफ्नै भाषामा सेवा उपलब्ध गराउनेछ।

पालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले भने, “एआईको दौडमा सरकार पहिलो हुनुपर्छ, र हामी टिङ टिङबाट यही सुरुवात गर्दैछौं। स्थानीय सरकारले संविधानले दिएको २२ वटा अधिकार क्षेत्रभित्र रहेका सेवाहरू नागरिकसम्म सहज रूपमा पुर्‍याउनु आवश्यक छ। डिजिटल सेवालाई प्राथमिकता दिँदै हामी गुणस्तरीय सेवा दिन लागेका छौं।”

उनले थपे, “हाम्रो उद्देश्य ३८ हजार नागरिक र व्यावसायिक–औद्योगिक शहरका बासिन्दालाई गुणस्तरीय सेवा दिनु हो। यसका लागि टेलिफोन सबैभन्दा प्रभावकारी माध्यम हो। नेपाली भाषामा सेवा उपलब्ध गराउन हामीले टिङ टिङ प्रणाली विकास गरेका छौं। यसले नागरिकलाई सेवा र सुविधा दुवै सहज रूपमा दिन सहयोग पुर्‍याउनेछ।”

धुलिखेल नगरपालिकाले गरेको यो ऐतिहासिक पहललाई देशभरका अन्य स्थानीय सरकारहरूले पनि अपनाउन सक्ने र नागरिकले सहज डिजिटल सेवा पाउने विश्वास गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *