यी हुन् आजको एमाले बैठकका एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार आज दिँउसोलाई बैठक बोलाइएको हो।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने उनले बताए। बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गरिने छ।

महाधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ।

एमालेले आगामी भाद्र २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्दैछ। महाधिवेशनको मूल नाराको रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय भएको छ।

दोस्रो विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जना सहभागी रहनेछन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली चीन भ्रमणबाट बुधबार बेलुका फर्किएका छन्। बैठकमा चीन भ्रमणबारे पनि अध्यक्ष ओलीबाट ब्रिफिङ हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *