सुर्खेतमा नक्कली आमाबाबु बनेर विवाह ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग विवाह गराई ठगी गर्ने दुई जना सुर्खेतमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार फेसबुकलगायत सामाजिक सञ्जालमार्फत नक्कली आमाबाबु र छोरी बनेर नगद र गरगहना ठगी गरेको उजुरी परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा दैलेख साँडु घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपालकुमार विक र अछाम तुर्माखाँद–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। नक्कली आमाबाबु बनेर ठगी गर्ने योजना फेल भएपछि दुलही बनेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट विवाहमा प्रयोग हुने कपडा, सुनका गरगहना र बिहेका फोटोहरू समेत बरामद गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *