प्रतिनिधिसभाले दुई विधेयक सम्बन्धित समितिमा पठायो
काठमाडौं । प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पेश गरेको उक्त विधेयकलाई छलफलका लागि पठाउन सभाले सर्वसम्मत स्वीकृति दिएको हो।
त्यसअघि सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ। सभामुखले विधेयकमाथि संशोधन दर्ता गर्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा पेश गर्न सक्ने जानकारी गराए।
यसैबीच, राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि पुनर्विचार गर्ने एजेन्डा भने आजको कार्यसूचीबाट हटाइएको सभामुखले जानकारी दिएका छन्।
प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिउँसो १ बजे बस्नेछ।
Facebook Comment