एमाले विधान महाधिवेशन: उद्घाटन १२ मिनेटमै, कला–झाँकीसहित स्मार्ट शैलीमा

काठमाडौं । नेकपा एमालेले दोस्रो विधान महाधिवेशनलाई स्मार्ट रुपमा सञ्चालन गर्ने भएको छ । उद्घाटन कसरी गर्ने ? भन्ने विषयको डिजिटल कन्सेप्ट टुंगो नलागेपछि परम्परागत शैलीलाई अपनाएर लामो र झन्झटिलो नबनाउने निष्कर्ष भने पार्टीले निकालेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम उद्घाटन गर्दा परम्परागत उद्घाटन शैली, स्वागत, शुभकामना मन्तव्यलगायतका कार्यक्रम हुनेछैनन् ।
उद्घाटनको काम १२ मिनेटभित्र सक्किने छ । उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने व्यवस्था मिलाइएको एमाले प्रचार विभागले जनाएको छ । उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बहिर मिडिया सेन्टरमा कलाकारहरुले आर्ट बनाउने छन् । जसको प्रत्यक्षप्रसारण भित्र हलमा पनि गरिने छ । झाँकीहरु हल बाहिर नै प्रर्दशनको व्यवस्था गरिएको छ ।
१२ मिनेटको धुन सक्किए पछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । त्यस लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ ।
केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
उद्घाटनसँगै बन्दसत्र एकै साथ सुरु हुने भएकाले दिउँसो १ बजेतिर चिया/खाजाका लागि १ घन्टा ब्रेक हुनेछ ।
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ । आवासको व्यवस्था नगरिएकाले साँझ साढे ५ बजेभित्र प्रतिवेदन वाचन गरेर पहिलो दिनको कार्यक्रम सक्किने छ ।
२१ गते सबै प्रतिवेदन माथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ । त्यसका लागि माथि छतमा ४, हल प्रवेश छेउँमा २, हलभित्र २ र बाहिर क्याटरिङ स्थलमा २ वटा समूह छलफलको लागि व्यवस्था मिलाइएको छ । सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *