एमालेको विधान महाधिवेशनमा ‘व्यक्तिगत’ विषयमाथि छलफल हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशन विधि, विधान र सिद्धान्तमा मात्र केन्द्रित हुने बताएका छन्। उनले महाधिवेशनमा अनावश्यक र संवेदनशील बनाइएका विषयहरूमाथि छलफल नहुने स्पष्ट पारेका हुन्।

शुक्रबार विधान महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले कुनै पनि व्यक्तिको नाम नलिई भने, “पार्टीमा कतिपय विषयहरू अनावश्यक ढंगले संवेदनशील बनाइएका छन्। तर, ती कुराहरू विधान संशोधन वा विधान महाधिवेशनसँग सम्बन्धित छैनन्।”

ओलीको यो भनाइलाई राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भूमिकाबारे भइरहेका चर्चासँग जोडेर हेरिएको छ। उनले यस्ता विषयहरू पार्टीका कमिटीहरूमा छलफल हुने स्पष्ट पारे। “जुन विषय विधान, दस्तावेजसँग सम्बन्धित छैनन्, ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन्,” उनले भने।

ओलीका अनुसार, यस्ता मुद्दाहरूमाथि सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ। उनले विधान महाधिवेशनलाई विषयकेन्द्रित र अनुशासित बनाउनुपर्नेमा जोड दिए। यस महाधिवेशनको मुख्य उद्देश्य पार्टीको भावी दिशा र संगठनात्मक संरचनालाई बलियो बनाउनु रहेको उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *