लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत-चीन सहमतिको नेपालले विरोध गरेको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूभाग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति नेपाल सरकारले आपत्ति जनाएको बताएका छन्। उनले चीन र भारत दुवैसँग यो विषयमा स्पष्ट कुरा राखिएको जानकारी दिएका छन्।
ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले भने, “यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा मैले लिपुलेकबारे हाम्रो असहमति स्पष्ट पारेको थिएँ।” उनले भारतसँग पनि निरन्तर यो विषयमा कुरा राख्दै आएको बताए।
प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले कुनै समर्थन नगरेको पनि स्पष्ट पारे। यसले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वार्थलाई थप मजबुत बनाउने उनको भनाइ छ।
ओलीको यो भनाइले नेपालको सार्वभौमिकता र सीमा सुरक्षाका विषयमा सरकारको अडानलाई पुनः पुष्टि गरेको छ। लिपुलेकको विषय नेपाल, भारत र चीनबीचको संवेदनशील त्रिपक्षीय मुद्दा हो।


Facebook Comment