“लोकसेवा आयोग सबैको विश्वासप्राप्त संस्था हो” : अध्यक्ष रेग्मी
काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगलाई सबै नागरिकले विश्वास गर्ने संस्था बनाएको दाबी गरेका छन् । आयोगको हीरक जयन्ती वर्ष–२०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत आज धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले आयोग निष्पक्षता, स्वच्छता र योग्यतामा सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।
अध्यक्ष रेग्मीका अनुसार आयोगले हरेक वर्ष निजामती सेवातर्फ करिब चार हजार र अन्य संगठित संस्थातर्फ करिब १५ हजार योग्य उम्मेदवारको छनोट गरी सिफारिस गर्ने गरेको छ । उनले भने, “हामीलाई संख्याभन्दा पनि गुणस्तरीय र प्रतिबद्ध प्रतिस्पर्धी आवश्यक छन् ।”
आयोगको कामको प्रशंसा
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेलले आयोगको निष्पक्ष र स्वच्छ कार्यप्रणालीको प्रशंसा गरे । उनीहरूको भनाइमा, आयोगले प्रतिस्पर्धामा समान अवसर सुनिश्चित गरेर जनविश्वास कायम राख्न सफल भएको छ ।
विद्यार्थी केन्द्रित कार्यक्रम
आयोगले विद्यार्थीमार्फत आफ्ना उद्देश्य र सन्देशलाई फैलाउन ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा आयोगको समग्र गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन गरियो र कार्यपत्र प्रस्तुत गरियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
Facebook Comment