काठमाडौंमा आज भव्य इन्द्रजात्रा : जीवित देवी कुमारीसहित रथयात्रा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै आज परम्परागत धुमधामका साथ इन्द्रजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो ऐतिहासिक पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा विशेष आकर्षणका साथ मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यस पर्वमा विभिन्न नाचगान, रथयात्रा तथा देवी–देवताको पूजा–आराधना हुने परम्परा छ। इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ र यसको फेदमा भैरवको पूजा गर्ने चलन छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रतीकका रूपमा मनाइने विश्वास रहँदै आएको छ।

पूर्वतयारीका क्रममा भक्तपुरको चितपोल जंगलबाट भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ। त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन लिङ्गो तयार पारिन्छ।

आजको मुख्य आकर्षण हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हुनेछ। विगतमा यो अवसरमा राजाले स्वयं उपस्थित भई दर्शन गर्ने परम्परा थियो भने अहिले राष्ट्रपतिबाट अवलोकन गर्ने चलन कायम गरिएको छ।

रथ तान्ने पहिलो दिन आज बिहानैदेखि रथ सजाउने र तयारी गर्ने कार्य जारी छ। भक्तजनहरू उल्लासपूर्वक सहभागी हुँदै सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई अझ भव्य बनाइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *