बझाङको ‘बाघ’ रवीन्द्र ढाँट भन्छन्: अझै धेरै टेक्निक सिक्न बाँकी छ

काठमाडौं । नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले आफ्नो यात्रा अझै अधुरो रहेको र धेरै फाइट टेक्निक सिक्न बाँकी रहेको बताएका छन्।

रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरको रूपमा अनुबन्ध भएपछि अनुभव बाँड्दै ढाँटले भने,
“म भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा विजयी भएर फर्किएपछि धेरैले बोल्न लगाउँछन्। मलाई खासै बोल्न त आउँदैन। म फाइटर हुँ। बोल्नभन्दा फाइट गर्न आउँछ। तर व्यवसायिक फाइट खेल्न अझै धेरै टेक्निक र सीप सिक्न बाँकी छ।”

विश्वमा नेपालको नाम उजागर गर्ने सपना पूरा गर्न उनले आफ्ना प्रशिक्षक दिवेशप्रिय लामालाई भगवानको रूपमा स्वीकारेका छन्। उनले भने,
“मेरो सपना पूरा गर्न दिवेशप्रिय लामासँगको भेट ठूलो मार्ग बन्यो। उहाँको साथ र सहयोगले मलाई आज यो उचाइमा पुर्‍यायो। आगामी यात्रामा पनि तपाईंहरूको साथ र सहयोग आवश्यक छ।”

स्टेजबाट उनले सिसन बानियाँलाई पनि सम्झिए। उनले भने,
“यहाँ सिसन बानियाँ हुनुहुन्छ। मेरो यात्रालाई सहज बनाउने र मैले नबिर्सने नाम सिसन बानियाँ पनि हो।”

आगामी यात्रा अझै संघर्षपूर्ण हुने बताउँदै ढाँटले सबै नेपालीलाई धन्यवाद दिए र आफ्नो संघर्षमा उनीहरूको हौसलाको महत्व स्वीकार गरे।

उनका प्रशिक्षक दिवेशप्रिय लामाले पनि रविन्द्रसँग भेट्दा आफ्ना सपना पूरा हुने संकेत देखेको र त्यसपछि सँगसँगै यात्रा तय गरेको बताए। लामाले भने,
“रविन्द्रभित्र मैले मेरो सपना देखेँ। धेरै कुरा गरेर मात्र काम हुँदैन। हामीसँग भएको क्षमता देखाउन आवश्यक छ। त्यो क्षमता दृढ विश्वास र संघर्षबाट मात्र पूरा हुन्छ। खेलमा कुनै निश्चित नियम छैन। आफैँले नयाँ तरिका प्रयोग गर्नुपर्छ। ब्लू प्रिन्ट हुँदैन। यो गरे यो हुन्छ भन्ने कुरा छैन।”

लामाले सबैले उनलाई बझाङको बाघ भनेर चिन्ने बताए। तर मजाक गर्दै थपे,
“तर यसको छाला चाहिँ गैडाको छ। यसको क्षमताले पक्कै एक दिन हामी नयाँ उत्सवपूर्ण इतिहास मनाउनेछौँ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *