मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका डिस्चार्ज, उपचार खर्च एमालेले व्यहोर्ने

काठमाडौं ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी ११ वर्षीया बालिका अस्पतालबाट डिस्चार्ज भएकी छिन्। ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा शनिबार बिहान मन्त्री रानाको गाडीले ती बालिकालाई ठक्कर दिएको थियो।

एमालेको विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर नरोकी अघि बढेको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा चर्को आलोचना भएको थियो। साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको विषयले पनि जनस्तरमा ध्यान खिचेको थियो।

घटनापछि नेकपा एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च आफैँले व्यहोर्ने स्पष्ट पारेको थियो। ललितपुरका प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बालिकाको उपचार ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा गरिएको थियो र उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले घर फर्काइएको हो। ठक्करबाट बालिकालाई कुनै ठूलो चोट भने लागेको थिएन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *