‘जेन जी’ आन्दोलनबारे कांग्रेसको आकस्मिक बैठक, सरकारको कार्यशैलीप्रति आपत्ति
काठमाडौं । ‘जेन जी’ अभियानअन्तर्गत भइरहेको आन्दोलन हिंसात्मक बन्दा नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको हो। शर्माले सरकारको व्यवहार र आकलन क्षमतामाथि प्रश्न उठाउँदै बैठकमार्फत आवश्यक निर्णय गरिने जानकारी दिए।
‘सरकारले परिस्थिति आँकलन गर्न नसकी गम्भीर गल्ती गर्यो,’ शर्माले भने, ‘अब यस विषयमा गम्भीरतापूर्वक छलफल गरेर पार्टीको धारणा तय गरिनेछ।’
कांग्रेस सत्ता साझेदार दल भए पनि आन्दोलनमा प्रहरीको बल प्रयोगपछि उत्पन्न परिस्थितिप्रति असन्तुष्टि जनाउँदै आएको छ। बैठकमा जेन जी आन्दोलन, प्रहरी हस्तक्षेप, मानविय क्षति र सरकारको प्रतिक्रिया लगायतका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
Facebook Comment