इटहरीमा ‘जेन जी’ आन्दोलन उग्र, अनिश्चितकालीन कर्फ्यु आदेश जारी
काठमाडौं । सुनसरीको इटहरीमा ‘जेन जी’ आन्दोलन उग्र बनेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार, इटहरी उपमहानगर क्षेत्रभित्र झडप र आगजनीका घटना बढेपछि कर्फ्यु लगाउनुपरेको हो।
कर्फ्यु क्षेत्रको सीमा:
पूर्व: मिलनचोक हुँदै जुट विकास तथा अख्तियार कार्यालयसम्म
पश्चिम: कलङ्की चोक
उत्तर: हलगडा
दक्षिण: साथी पेट्रोल पम्प हुँदै बसपार्क
प्रजिअ मिश्रका अनुसार, आन्दोलनकारीहरूले इटहरी उपमहानगर कार्यालयमा आक्रमण तथा आगजनी प्रयास गरेपछि अवस्था नियन्त्रणबाहिर जान थालेको थियो। कर्मचारी र जनप्रतिनिधिहरू ज्यान जोगाएर भाग्नुपरेको पनि उनले जानकारी दिए।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन
कर्फ्यु जारी भए पनि स्थानीय प्रशासनले स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिरहेको जनाएको छ। कर्फ्युको अवधि खुलाइएको छैन, प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको बताएको छ।
Facebook Comment