वीरगञ्जमा १८ वर्षीया युवतीमाथि गोली प्रहार, झारखण्डका युवक पक्राउ
काठमाडौं । पर्साको वीरगञ्जमा सोमबार एक १८ वर्षीया युवतीमाथि गोली प्रहार भएको छ। भारतको झारखण्ड घर भएकी निशा कुमारीमाथि वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा गोली प्रहार गरिएको हो।
पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, निशा कुमारीको गालामा गोली लागेको छ। उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था स्थिर रहेको बताइएको छ।
एसपी मिश्रका अनुसार, युवतीमाथि गोली प्रहार गरेको अभियोगमा भारत झारखण्डका २६ वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको छ।
गोली चलाएपछि भारततर्फ भाग्न खोज्दै गरेका बेला उनलाई सीमाक्षेत्रबाट पक्राउ गरिएको हो।
होटलमा विवादपछि गोली प्रहार
प्रारम्भिक अनुसन्धान अनुसार, वीरगञ्जस्थित एक होटलमा खाजा खाँदै गर्दा दुईबीच विवाद भएको र सोही क्रममा निशामाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र गोली चलाउनुको वास्तविक कारण थप खुल्ने एसपी मिश्रले जानकारी दिएका छन्।
Facebook Comment