नेपाल बचाऔँ भन्दै एमाले सचिव योगेशले सुझाए १० प्रस्ताव
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हतारमा निर्णय गर्दा सही ठाउँमा नपुग्ने भन्दै गम्भीर भएर देशका लागि सोच्न आग्रह गरेका छन् ।
उनले यतिबेला देश इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताउँदै सबै तनावको बेलामा भएकाले गम्भीरताका साथ निर्णय लिनुपर्ने बेलामा रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘प्रिय कमरेडहरू! हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौँ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाऊँमा पुर्याउँदैन ।’
यो अवस्थामा सोचविचारसहित अघि बढ्नुपर्ने बताउँदै उनले १० बुँदे सुझाव अघि सारेका छन् ।
यी हुन् योगेशका १० सुझाव
१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ, हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । ग़ल्तीप्रति आत्मालोचित होऔँ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होशियारी पूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ ।
४. पार्टीका आन्तरिका प्रक्रियालाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।
५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔँ ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौँ ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔँ ।
९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनुपर्दछ । विश्व समुदायले नेपालीहरूको यो प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।
१०. GEN Z समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ । नेपाल बचाऔँ । नेपालीत्व जोगाऔँ ।
Facebook Comment