संवादमार्फत समाधान खोज्न राष्ट्रपतिलाई एमालको आग्रह
काठमाडौं । नेकपा (एमाले) ले देशमा उत्पन्न हिंसात्मक र अराजक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकासका लागि सार्थक संवाद थाल्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ।
एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ‘जेन-जी’ पुस्ताको प्रदर्शनका क्रममा युवाहरुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसपछिका हिंसात्मक घटनाले मुलुकलाई दशकौँ पछाडि धकेलेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ ‘सङ्घीय संसद भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन्। बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् भने सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ।‘
एमालेले प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट १९ जना युवाको निधन भएको घटनाले मुलुक मर्माहत बनेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ।
यद्यपि, प्रदर्शन शान्तिपूर्ण रहने आयोजकको घोषणाविपरीत भएका विध्वंसात्मक घटना कसरी भए भन्नेबारे यथार्थ छानबिन हुनुपर्ने र यसमा सुरक्षा निकायको भूमिकाको पनि समीक्षा गरिनुपर्ने उसको धारणा छ।
प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक संकटको समाधान संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा एमालेले जोड दिएको छ।
‘सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा संवोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
एमालेले यस्तो विषम परिस्थितिमा आफ्ना सम्पूर्ण पार्टी पंक्तिलाई अविचलित र एकताबद्ध रहन आग्रह गर्दै प्रशासनसँग समन्वय गरी सार्वजनिक सम्पत्तिको रक्षा गर्न र जनतालाई सहयोग गर्न निर्देशन दिएको छ।
साथै, देशभरि भइरहेको लुटपाट र आगजनी नियन्त्रण गरी जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा निकायलाई आह्वान गरिएको छ।
Facebook Comment