झापामा सुन्धारा कारागारबाट फरार दुई कैदी सीमाक्षेत्रमै पक्राउ
काठमाडौं । झापाका सीमावर्ती क्षेत्रमा हालै कारागारबाट भागेका दुई जना कैदीबन्दी पक्राउ परेका छन्।
लागूऔषध ओसारपसारमा दोषी ठहरिएकी गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीकी ५० वर्षीया अञ्जली खातुनलाई गएराति नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जको संयुक्त गस्ती टोलीले राति ११:१५ बजे गौरीगञ्ज–५ मलाहा टोलमा भारततर्फ भाग्दै गरेकी खातुनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ। जेन-जी आन्दोलनको क्रममा उनी भदौ २४ गते काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएकी थिइन्।
त्यस्तै, काठमाडौंको कारागारबाट भागेका मोरङ विराटनगर–३ का सुरज कामत पनि भारतीय सीमाक्षेत्रमा पक्राउ परेका छन्। बुधवार राति करिब १० बजे भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङको आमवारी हुँदै ई–रिक्सा र पैदल भारत प्रवेश गरेका कामत लागूऔषध अभियोगमा कैद सजाय भुक्तान गरिरहेका थिए। बिहीबार उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ।
यी घटनासँगै जेन-जी आन्दोलनपछि सुन्धारा कारागारबाट भागेका कैदीबन्दीहरूको खोजी अभियानलाई बल मिलेको सुरक्षाकर्मीहरूले बताएका छन्।


Facebook Comment