जेन-जी आन्दोलनप्रति उद्योग वाणिज्य महासंघको चिन्ता: “संवाद र संयमता नै समाधानको बाटो”

काठमाडौं । मुलुकभर जेनजी पुस्ताले चलाएको आन्दोलनका क्रममा भएको जनधन क्षति र ज्यानको हानीप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ। महासंघले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

युवा पुस्ताले उठाएका मर्यादित रोजगारी, स्वरोजगारी, र सरकारी राजस्वको सदुपयोग जस्ता विषयप्रति संवेदनशील हुन महासंघले नेपाल सरकार, राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेको छ। साथै, मुलुकमा थप निराशा र अशान्तिको वातावरण सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नगरियोस् भनी सबैको ध्यानाकर्षण गराएको छ।

महासंघका अनुसार, सामाजिक न्यायसहित उच्च आर्थिक वृद्धि मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सुनिश्चित गर्न सकिन्छ। आर्थिक गतिविधिलाई चलायमान राख्न र पर्यटन सिजनमा नेपालबाट सकारात्मक सन्देश प्रवाह गर्नका लागि संयमित संवाद र सहकार्यमार्फत समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा महासंघले जोड दिएको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन महासंघले सरकार, राजनीतिक दल र जेन-जी पुस्तालाई अपिल गर्दै नागरिकको सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, तथा लगानी र रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *