कोमल वलीको होटलमा आगजनी, जेन–जी आन्दोलनमाथि प्रश्न: “४० जनाको रोजगारी खोस्नु क्रान्ति हो त?”

काठमाडौं । जेनजी आन्दोलनका क्रममा एमाले नेतृ र गायिका कोमल वलीको दाङस्थित होटलमा आगजनी भएको छ। आगजनीपछि वलीले सामाजिक सञ्जालमार्फत युवा पुस्ता जेन–जीलाई प्रश्न गर्दै लेखेकी छन्, “गाउँकै ४० युवालाई रोजगारी दिएको होटल जलाएर के गर्‍यौ? ४० जनाको रोजगारी खोस्नु नै जेन–जी क्रान्ति हो?”

वलीले थप लेखेकी छन्, “जेन–जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा गरिएको यस कार्य के साँच्चै आन्दोलनको हिस्सा हो? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन–जीको क्रान्ति हो? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो? पानीको सेवा दिइरहेका इसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति पनि हात काँपेनन्।”

व्यवसाय विस्तारै अघि बढिरहेको अवस्थामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको वलीले आरोप लगाएकी छन्। उनले भनिन्, “मैले सधैं साथ दिएको उमेर समूह जेन–जीको आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो हुँदैन।”

साथै, उनले जेन–जी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। निर्दोषले अनावश्यक रूपमा ज्यान गुमाउँदा उनको छात्ति चिरिएको समेत उल्लेख गरिएको छ।

कोमल वलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको, उपचार खर्चको नाममा कुनै सुविधा नलिएको र आर्थिक प्रलोभनमा नपरेको स्पष्ट पारेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *