जेनजी प्रदर्शनमा आगजनी: देशभरका दुई दर्जन होटलमा २५ अर्ब रुपैयाँको क्षति
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा आगजनी भएको छ, जसबाट २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।
होटल संघ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि यस हप्ताको आन्दोलनका क्रममा झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको छ। संकलित प्रारम्भिक तथ्यांकअनुसार, प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ–विराटनगर, धनगढी, महोत्तरी, दाङ–तुल्सीपुर लगायतका क्षेत्रका रहेका छन्।
स्वदेशी तथा विदेशी ब्राण्डका चर्चित होटल प्रतिष्ठानहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, “प्रभावित होटलहरू मर्मत, संभार र पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने भएकाले करिब दुई हजारभन्दा बढी कामदार–कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर पर्न गएको छ। हाल सञ्चालन अवरुद्ध रहेका यी होटलहरूले बैंक तथा वित्तीय संस्थासँगको नियमित आर्थिक दायित्व पूरा गर्न असमर्थ हुने देखिएको छ।”


Facebook Comment