गजुरीमा पक्राउ परेका ९७ फरार कैदीबन्दी नुवाकोट कारागारमा
काठमाडौं । हालैको अशान्त परिस्थितिमा केन्द्रीय कारागार, नक्खु, भद्र र भीमभेदी कारागारबाट भागेका ९७ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले धादिङको गजुरीबाट नियन्त्रणमा लिएको छ।
धादिङ प्रहरीका एसपी भेषराज रिजालका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएर नुवाकोट कारागार पठाइएको हो।
पृथ्वी राजमार्गमा चलिरहेका सवारीसाधन गजुरीमा चेकजाँच गर्ने क्रममा फरार कैदीहरू पक्राउ परेका थिए। नियन्त्रणपछि उनीहरूलाई केही समयका लागि गजुरीस्थित भैरव गणमा राखी, जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा नुवाकोट कारागारतर्फ पठाइएको प्रहरीले जनाएको छ।
यसबीच, धादिङ कारागारबाट भने कुनै कैदी नभागेको स्पष्ट गरिएको छ।


Facebook Comment