जेनजी आन्दोलनमा मारिएका असहाब आलमको वीरगन्जमा जनाजासहित अन्तिम संस्कार
काठमाडौं । काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार जनाजासहित अन्तिम दाहसंस्कार गरिएको छ।
शुक्रबार राति काठमाडौंबाट ल्याइएको आलमको शव शनिबार बिहान जनाजा–शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। जनाजा तथा अन्त्येष्टिमा मुस्लिम समुदायसँगै हिन्दु धर्मावलम्बी पनि हजारौँको संख्यामा सहभागी भएका थिए।
केवल दुई महिनाअघि वैवाहिक बन्धनमा बाँधिएका आलम मंगलबार काठमाडौंमा भएको जेनजी आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मारिएका थिए। विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा राजधानीमा बस्दै आएका उनी पठाओ राइडरका रूपमा कार्यरत थिए।

सोही दिन गोङ्गबुतर्फ यात्रु लिएर जाँदै गर्दा प्रहरीको गोली लागेर आलमको मृत्यु भएको वीरगन्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले बताए। उनका अनुसार, आलमको पेट र छातीमा गोली लागेको थियो। मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा उनको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको हो।
वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौं गएका थिए। अध्ययनसँगै उनले पठाओ राइडरको काम गरेर परिवारलाई पनि सहयोग गर्दै आएका थिए।


Facebook Comment