मध्यमदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान, सावधानी अपनाउन विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । राजधानी काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ भने दिउँसो र राति पनि सामान्यतया बदली रहनेछ ।
विभागका अनुसार लुम्बिनी प्रदेशसहित पहाडी भू–भागका धेरै ठाउँमा र तराईका केही क्षेत्रमा मध्यम वर्षा पर्न सक्नेछ । साथै, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा तथा कोसी र वाग्मतीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनीका एक–दुई क्षेत्रमा भने धेरै भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ ।
राति पनि वर्षाको क्रम जारी रहने अनुमान छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यम वर्षा र अन्य प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा हुनसक्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा धेरै भारी वर्षाको जोखिम पनि कायम रहेको विभागले जनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा सक्रिय रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षाको गतिविधि अझै तीव्र हुने विभागले जनाएको छ ।


Facebook Comment