मन्त्री छनोटप्रति असन्तुष्टि, प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको बालुवाटारमा प्रदर्शन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’ र ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका सदस्य पनि प्रदर्शनमा सहभागी भएका थिए ।
प्रधानमन्त्री निवासको तेस्रो नम्बर गेट अगाडि सुदन गुरुङले भने,
‘सबैभन्दा शक्तिशाली नेपाली जनता हो, कसैले रोक्न सक्दैन । जसलाई हामीले राख्छौं, त्यसलाई हटाउन पनि सक्छौं ।’
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्की सुदन गुरुङ समूहकै प्रस्तावमा सत्तामा आएकी थिइन् । उनले आइतबार गृह, अर्थ र ऊर्जा मन्त्री नियुक्त गरेकी थिइन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरिएको थियो ।
तर, मन्त्री छनोटमा आफूहरूको सल्लाह नलिइएको भन्दै सुदन समूह असन्तुष्ट बनेको छ । विशेषगरी ओमप्रकाश अर्यालको नियुक्तिबारे सुदन गुरुङले आक्रोश पोख्दै भनेका छन्,
‘यो ओमप्रकाशलाई लिएर आफैं गृहमन्त्री बनाउँदो रहेछ भित्र बसेर।’
युवाहरूको नाराबाजी सुरु भएपछि प्रधानमन्त्री निवास वरिपरि सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो ।


Facebook Comment