हुम्लाको सुदूरवर्ती सर्केगाड र चंखेलीमा टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ मा मंगलबारदेखि टूजीसँगै फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

फोरजी सेवा सुरु भएपछि सर्केगाड गाउँपालिकाका वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमलगायतका बस्तीका स्थानीयवासी गुणस्तरीय दूरसञ्चार सेवाबाट लाभान्वित हुन थालेका टेलिकमले जनाएको छ ।

यसअघि गत शुक्रबारदेखि हुम्लाकै चंखेली गाउँपालिका–६ मा पनि टूजी र फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।

फोरजी सेवाको सुरुवातसँगै चंखेली गाउँपालिकाका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने बरैहीगाउँ, सरु गाउँ, देउली, निमिगाउँ र वरिपरिका बस्तीमा समेत गुणस्तरीय मोबाइल इन्टरनेट सेवा उपलब्ध भएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमका अनुसार देशका दुर्गम भूभागसम्म द्रुतगति इन्टरनेट सेवा विस्तार गर्ने अभियान अन्तर्गत कर्णालीका गाउँगाउँमा फोरजी पहुँच विस्तारलाई प्राथमिकता दिइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *