एमालेले वर्तमान सरकारलाई पूर्ण समर्थन दिने संकेत
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई पार्टीको पूर्ण समर्थन र सहयोग रहने बताएका छन्। सोमबार आगजनीबाट क्षतिग्रस्त भएको एमाले मुख्यालयको निरीक्षण गर्दै उनले भने कि सरकार भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउँदा एमालेले पूर्ण सहयोग गर्नेछ।
पोखरेलले देशभर क्षतिग्रस्त भएका पार्टी कार्यालयको पुनर्निर्माण तुरुन्तै सुरु गर्न कार्यकर्तालाई अपिल गर्दै सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान दिन निर्देशन दिएका छन्।
महासचिव पोखरेलले असोज ३ गते संविधान दिवस मनाउने तयारीको बारेमा जानकारी दिँदै भने, ‘लामो संघर्षपछि २०७२ सालमा प्राप्त हाम्रो संविधान दिवस असोज ३ गते पर्दछ। हामी यस दिवसलाई खरानीको थुप्रोबाट मनाउने छौँ। सबै जिल्लामा कार्यक्रम आयोजना हुनेछ भने काठमाडौं उपत्यकामा यो कार्यक्रम पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ।’
उनले थपे, ‘सधैं सडकबाट मात्र निर्णय नहुने भएकाले सडकबाट प्राप्त उपलब्धिलाई संविधानमा संस्थागत गर्न आवश्यक छ।’
वर्तमान सरकार अन्तरिम भएको कारण यसको मुख्य काम देशमा सुरक्षा वातावरण बनाउने र समयमा निर्वाचन सम्पन्न गराउनेमा केन्द्रित हुने महासचिव पोखरेलले बताए। उनले सबै लोकतान्त्रिक पार्टीहरू जनताको बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको विश्वास व्यक्त गरे।


Facebook Comment